खसीबोका बेचेर आत्मनिर्भर बन्दै तङ्ग्रामका महिला

बाग्लुङ | कात्तिक ४, २०८१

खसीबोका बेचेर आत्मनिर्भर बन्दै तङ्ग्रामका महिला

ढोरपाटन:     काठेखोला गाउँपालिका–४ तङ्ग्रामका महिला खसीबोका बेचेर आत्मनिर्भर बन्दै गएका छन् । सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी र वसन्त सहकारीमार्फत यहाँका महिलाले खसीबोका पाल्ने र बच्दै व्यवसाय गर्दै आएका हुन् । 

    
महिला समूह स्थापना गरी सोही सहकारीमार्फत महिलाले वार्षिक करिब रु चार करोड गाउँ भित्राउँदै आएका छन् । पछिल्लो समय युवा शिक्षा तथा रोजगारीका लागि विदेश जान थालेपछि गाउँ रित्तिन थालेको थियो । यहाँका महिला एकताबद्ध भएर बाख्रापालनमा व्यवसायमा लागेका हुन् । 

    
महिलाले उत्पादन गर्ने खसीबोका सहकारीले बिक्री गर्ने गरेको सप्तरङ्गी सामाजिक उद्यमीका प्रबन्धक मनु पुनले बताउनुभयो । 


सप्तरङ्गी सहकारीले वार्षिक रु दुई करोड र वसन्त सहकारीले रु एक करोड ९० लाख बढीको खसीबोका बिक्री गर्दै आएका छन् । महिलालाई उद्यमसँग जोड्नका लागि स्थापना भएको सप्तरङ्गी सहकारीमा तीन सय ८० र वसन्त सहकारीमा पाँच सय ६४ जना महिला आबद्ध छन् । 

    
सप्तरङ्गी सहकारीले यस वर्षको दसैँमा पाँच सय खसीबोका बिक्री गर्न तयार गरेकामा करिब एक सय बिक्री भएको संस्थाका प्रबन्धक पुनले जानकारी दिनुभयो । अघिल्लो वर्षको तुलनामा यसवर्ष खसीबोकाको माग कम भएकाले बिक्री गर्न नसकिएको उहाँले बताउनुभयो ।

    
“गत वर्षको दसैँका बेला पाँच सय बढी खसीबोका बिक्री भएको थियो, यसवर्ष धेरै बिक्री गर्न सकिएन, सहकारीमार्फत प्रत्येक महिना महिलाले उत्पादन गरेका ६० का दरले वार्षिक एक हजारभन्दा बढी खुसीबोका बिक्री हुन्छ”, पुनले भन्नुभयो, “गाउँका अधिकांश दिदीबहिनीले मेहनत गरेर आत्मनिर्भर बन्दै जानुभएको छ । सहकारीले पनि उहाँहरुलाई सहयोग गर्दै आएको छ । अघिल्लो वर्ष वार्षिक करिब रु दुई करोड चार लाख ४० हजारको खसीबोका बिक्री गरेका थियौँ ।”

    
पुनले यस मङ्सिर महिनामा गाउँमा पूजा हुने परम्परा रहेकाले मङ्सिरमा धेरै बोकापाठा बिक्री हुने बताउनुभयो । दसैँमा अन्य ठाउँबाट पनि भेडा, च्याङ्ग्रा र खसीबोका बिक्री गर्न बागलुङ ल्याउँदा आफूहरुको उत्पादनले बजार नपाएको उहाँले उल्लेख गर्नुभयो । 

    
वसन्त सहकारीकी प्रबन्धक हेमा विश्वकर्माले पछिल्लो समय खसीबोकाले बजार नपाउँदा आम्दानी कम हुँदै गएको बताउनुभयो । अघिल्लो वर्षमा सहकारीमार्फत हरेक महिना एक सयदेखि एक सय ५० वटासम्म खसीबोका बिक्री गर्ने गरेको भन्दै अहिले ५० को हाराहारीमा मात्रै बिक्री भएको उहाँले जानकारी दिनुभयो । 

    
पहिले वार्षिक एक हजार पाँच सय खसीबोका बिक्री गर्दा रु दुई करोड १० लाख गाउँ भित्र्याउने गरेको भन्दै विश्वकर्माले यसवर्ष करिब रु दुई करोड मात्रै आम्दानी भएको उल्लेख गर्नुभयो । यस वर्षको दसैँका लागि आठ सय खसीबोका तयार भए पनि तीन सय मात्र बिक्री भएको उहाँले जानकारी दिनुभयो । 

    
“अहिले बजारको माग कम भएको छ । यसअघिका वर्षहरुमा खसीबोकाको माग निकै आउने गरेकामा अहिले मूल्य बढे पनि माग कम छ”, विश्वकर्माले भन्नुभयो, “खसीबोका पालनबाट महिला आत्मनिर्भर बन्दै जानुभएको छ, यो सकारात्मक पक्ष हो ।” स्थानीय निकायसँगको समन्वयमा सीप विकासका लागि तालिमको व्यवस्था गर्न सके महिलाहरु यसप्रति अझै आकर्षित हुँदै जाने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पोखरा:  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिनुभएको छ । तमु धिं नेपालले महान ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्न थालेको पाँच दशक पूरा भएको छ ।  भेडाको घुम्ती गोठ लिएर बर्खामा गुर्जा र चुरेन ...

थप पढ्नुहोस्